‘अउरा’ ब्रान्डमा ह्यान्ड स्यानिटाइजर नेपालमै उत्पादन, ७० एमएलको बोतललाई एक सय ६० रुपैयाँ

विराटनगर। मुलुकभरि ह्यान्ड स्यानिटाइजरको अभाव भइरहेका बेला विराटनगरको एक उद्योगले यसको उत्पादन सुरु गरेको छ।

जाजू र देवेनरा मुन्दडा समूहको संयुक्त लगानीमा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हिमगिरि हाइजिनले ‘अउरा’ ब्रान्डमा ह्यान्ड स्यानिटाइजरको उत्पादन सुरु गरेको हो।‘हामीले परीक्षण उत्पादन सम्पन्न गरेका छौं,’ हिमगिरिका सञ्चालक वेदान्त जाजूले भने, ‘काम युद्धस्तरमा भइरहेको छ। एक हप्ताभित्र नै देशका मुख्य शहरमा ह्यान्ड स्यानिटाइजर पठाइसक्ने योजना छ।’

TVS

सञ्चालक वेदान्तका अनुसार उद्योग परिसरमा स्यानिटाइजरको मेसिन एक वर्षअगाडि नै ल्याइएको थियो र आगामी वैशाखभित्रमा उत्पादन बजारमा ल्याउने योजना थियो। तर कोरोना भाइरसको संक्रमण सँगसँगै तत्काल बजारमा ल्याउने निर्णय उद्योगका सञ्चालकहरूले गरे।

उनले थपे, ‘तत्काल उत्पादन गर्ने निर्णय लिएको सात दिनभित्र नै हामीले परीक्षण उत्पादन गर्न सक्यौं र प्राविधिकहरूले परीक्षण सफल भएको प्रतिवेदन दिएका छन्। तत्काल उत्पादन गर्न हामीले कुनै कच्चा पदार्थ जहाजमा पनि मगायौं। दिल्ली र कोलकाताबाट आउने रेलमा पनि झिकायौं । रात–दिन नभनी काम गर्‍यौं।’

उनले स्यानिटाइजरको मेसिनरी भारतबाट मगाइएको र सबै कच्चा पदार्थ पनि भारतबाटै पैठारी गरिएको उल्लेख गरे।‘अउरा’ ब्रान्डको ह्यान्ड स्यानिटाइजरमा ७० प्रतिशत ‘इथाइल अल्कोहल’ रहेको उनले बताए। कोरोना भाइरसलाई समाप्त पार्न स्यानिटाइजरमा कम्तीमा ६५ प्रतिशत इथाइल अल्कोहल हुनुपर्ने जाजूको जिकिर छ। उनले आफ्नो उत्पादनले अन्तर्राष्ट्रिय स्तर र मापदण्डलाई भेट्टाउने दाबी गरे। 

पहिलो चरणमा एलोबेरा फ्लेवरमा ह्यान्ड स्यानिटाइजरको उत्पादन गरिएको र यसलाई विभिन्न फ्लेवरमा विस्तार गर्ने योजना रहेको उनले स्पष्ट पारे। उद्योगले तत्काल ७० एमएलको बोतलमा स्यानिटाइजर उत्पादन गरिरहेको छ र यसको मूल्य १ सय ६० राखिएको छ। उद्योगको क्षमता प्रतिदिन १५ हजार बोतल उत्पादन गर्ने रहेको उनले जानकारी दिए।

जाजूका अनुसार निकट भविष्यमै १५० एमएलको बोतलमा र गोजीमा राख्ने प्रयोजनका लागि थप दुई थरि स्यानिटाइजर उत्पादन गर्ने लक्ष्य राखिएको छ। हिमगिरि हाइजिनले नुहाउने र लुगाधुने साबुन, डिटर्जेन्ट पाउडर, डिटर्जेन्ट केक, टिस्यु पेपर, ह्यान्ड वास, ट्वाइलेट क्लिनर, फिनेलको उत्पादन गरिरहेको छ।

हिमगिरि सोप एन्ड केमिकल्स प्रालिको नाम परिवर्तन गरेर हिमगिरि हाइजिन बनाइएको हो।हिमगिरिले ह्यान्ड स्यानिटाइजरको उत्पादन गरेसँगै शारडा र राठी समूहको संयुक्त साझेदारीमा सञ्चालित स्वदेशी साबुन उद्योगले पनि ह्यान्ड स्यानिटाइजरको उत्पादन गर्ने घोषणा गरेको छ। स्वदेशी साबुनका सञ्चालक अमित शारडाले बिजमाण्डूसँग भने, ‘हामी २०७६ सालभित्रै स्यानिटाइजरलाई बजारमा ल्याइसक्ने गरी काम गरिरहेका छौं।’

Related Post